Increased popularity of e-commerce

विश्वमा कोभिड–१९ को महामारी सुरु भएपछि ई–कमर्स कम्पनीको स्थापना हुने क्रम बढेर गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाउँदो क्रममा छ । अझ यो कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता अझ बढ्दो क्रममा छ । करिब १ सयभन्दा बढी अनलाइनले सेवा प्रदान गरिरहेको बताइन्छ । सरकारले ‘निषेध आदेशको समयमा अत्यावश्यक वस्तु तथा होम डेलिभरी गर्नेसम्बन्धी मापदण्ड–२०७७’ जारी गर्दै सर्तसहित सेवा प्रवाह गर्न दिएको छ । अनलाइनलाई सरकारले अहिले दिउँसो १ देखि साँझ ७ बजेसम्म मात्र होम डेलिभरी गर्न अनुमति दिएको छ । १५ वटा सर्त जारी गर्दै सरकारले अनलाइन कम्पनी सेवा प्रवाह गर्दा सम्बन्धित निकायमा दर्ता भएको हुनुपर्ने र साइटमा वस्तु तथा सेवाको मूल्य अनिवार्य गरिएको छ । त्यस्तै सेवा प्रवाह गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्ने, ग्राहकको विवरण, बिल बिजक, परिचयपत्र, डेलिभरी गर्नेको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने प्रावधान राखिएको छ । प्राविधिको सहजतासँगै पछिल्लो समय नेपालमा ई–कमर्स कम्पनीको संख्या बढ्दो छ । घरै बसेर अनलाइनका माध्यमबाट सेवा लिन सकिने भएकाले ई–कमर्सको लोकप्रियता चुलिँदो छ । कोरोना महामारीका कारण घरैमा सीमित हुनुपरेको सन्दर्भमा ई–कमर्सको महत्व झन् ह्वात्तै बढेको छ । यससँगै विभिन्न विधामा विधागत ई–कमर्स कम्पनी सञ्चालकसँग कारोबारले गरेको कुराकानीको सार :

लकडाउनमै सुरु भए ग्यापु डटकम
ज्ञानेन्द्र खड्का
संस्थापक, ग्यापु डटकम

नेपाली ई–कमर्स कम्पनीको माध्यमबाट सबै किसिमका सामग्री उपलब्ध गराउने सोचका साथ ग्यापुले सेवा सुरु गरेको हो । कोरोना कहरको विषम परिस्थितिमा सुरु गरिएको व्यवसाय, नेपालमा पहिलो लकडाउन सुरु हुँदा हामीले पनि सेवा सुरु गरेका हौं । ग्यापुले उपभोक्तामाझ सबै सामग्री घरमा पु-याउने लक्ष्यका सुरु गरेको अनलाइन प्लेटफर्मको लोकप्रियता आज आएर बढ्दो क्रममा रहेको छ । अमेरिकी आईटी हब सिलिकन भ्यालीमा रहेर व्यवसाय गर्दै आएको थिएँ, लकडाउनसँगै नेपालमा ग्यापु सञ्चालनमा ल्याएका हौं । उपत्यकादेखि बनेपासम्म होम डेलिभरी गर्ने गरी सेवा प्रदान गरिरहेका छौं । ग्यापुले व्यापार विस्तार गर्ने रणनीतिअनुसार विभिन्न कम्पनीसँग साझेदारी सुरु गरेका छौं । ग्यापुले काठमाडौंको सिभिल मलका सबै पसलका सामान र सेल्सबेरीका समान ग्राहकहरूलाई घरमै निःशुल्क डेलिभरी गर्ने गरी सम्झौता गरेको छ । काठमाडौं, बनेपा र पोखराका २३ आउटलेटमार्फत सेवा दिइरहेको सेल्सबेरीमा उपलब्ध १ हजार ४ सयभन्दा धेरै घरायसी सामान ग्राहकले ग्यापु डटकमको वेबसाइट वा मोबाइल एपमार्फत अर्डर गर्न सक्नेछन् । ग्यापुले जी–बार सञ्चालनमा ल्याएको छ । जी–बार एउटा भर्चुअल बार हो, जहाँ ग्राहकले घरमै मेनु पाउनेछन् र आफूलाई आवश्यक सामग्री ग्यापु डटकमबाट सोझै अर्डर गर्न सक्छन् । जी–बारअन्तर्गत अल्कोहल र तयारी खाजा चौबीसै घण्टा डेलिभरी गरिरहेको छ । कालिमाटीमा तोकिएभन्दा कम मूल्यमा हाल ग्यापुले तरकारीका ६० जना कर्मचारीलाई रोजगारी प्रदान गरेर होम डेलिभरी गरिरहेको छ । ग्यापुले छिट्टै भियतनाममा समेत आफ्नो सेवा विस्तार गर्ने सोचमा रहेका छौं । हाल ग्यापुमा हजारभन्दा बढी भेन्डर र ४ लाखभन्दा बढी उत्पादन उपलब्ध छन् । दैनिक ७ सय अर्डरको व्यवस्थापन गरिरहेको छ । ग्यापुमा सपिङ गर्न मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत अर्डर गर्न सकिन्छ ।

गाउँको कोसेली राजधानीका उपभोक्तालाई ई–फार्म
परमेश्वर श्रेष्ठ
संस्थापक, ई–फार्म

‘गाउँको कोसेली’ भन्ने नारासहित गत वर्षबाट ई–फार्मको अवधारणासहित सुरु गरेका हौं । किसान–उपभोक्तालाई सीधा ई–फार्मको प्लेटफार्ममार्फत जोडेर गुणस्तरीय र सस्तोमा खाद्य सामग्री पु-याउने लक्ष्यसहित दुईजना मिलेर सेवा सुरु गरेको अनलाइन व्यवसाय हो, जसले गर्दा बिचौलिया हाबी भएर मूल्यमा हुने वृद्धिलाई कम गरी उपभोक्तालाई सस्तो र सरल रूपमा सेवा दिन सकेका छौं । धापाखेलमा १० रोपनी क्षेत्रफलमा आफैं पनि फार्मबाट उत्पादन गरिरहेका छौं । हामी बाहिर पढेर आएकाले बाहिर अनलाइन बिजनेस फस्टाउँदो अवस्थामा देख्यौं र काठमाडौंमा यो खालको बिजनेसमा काम गर्न सकिने देखेर गत वर्षबाट मासुको बिक्री–वितरणबाट काम सुरु गरेका हौं । काठमाडौं उपत्यकानजिकका जिल्लाका किसानसँग पनि सीधा सहकार्य गरेर हामीले ग्राहकको घर–घरमा समान पु-याएका छौं । तीन जनाबाट सुरु गरेको सेवामा हाल २१ जना स्टाफले भ्यान र मोटरसाइकबाट सेवा दिएका छन् । कृषि उत्पादकत्वलाई डिजिटलाइजेसनको माध्यमबाट सेवा प्रदान गर्नु नै हाम्रो लक्ष्य रहेको छ, जसले गर्दा विदेशबाट बढ्दो आयात र नेपाली कृषि उपजले राम्रो बजार नपाइरहेको सन्दर्भमा ई–फार्मले देशका विभिन्न ग्रामीण भेगका किसानका उत्पादन खरिद गरी राजधानीवासीलाई अनलाइन डेलिभरीमार्फत सेवा दिँदै आएका छौं । कोभिड–१९ को विषम परिस्थितिमा पनि होम डेलिभरी प्रदान गरेका छौं । ताजा तरकारी र फलफूलका अतिरिक्त ई–फार्ममा पूर्वको लेटाङ र धनकुटाका खसी, इलामको घिउ, कास्कीको अनदीको र जेठोबूढोको चामल, त्यस्तै जुम्लाको मार्सी चामल, तिते फापरको पीठो, सेतो मकै, कालो चामल, स्याउको चना, सिमीको दाल, जौको च्याँख्ला, कालीमार्सी चामल, चिनाको चामल, मकै, तोरीको तेल, भाग लगाएको लोकल खसीको मासु, कालिज तथा लोकल कुखुराको बिक्री गर्दै आएका छौं । त्यस्तै ई–फार्मले स्ट्रबेरी, ब्ल्याकबेरी, ब्लुबेरीको उत्पादन तथा बिक्री गर्दै आएको छ । सपिङ गर्न ई–फार्मको फेसबुक पेज, इन्स्टाग्राममा च्याट गरेर र कम्पनीको वेबसाइटमार्फत आवश्यक सामग्री अर्डर गर्न सकिन्छ ।

फोनकै भरमा, औषधि घरमा
सुप्रित बाँस्कोटा
संस्थापक, ईजी केयर

‘औषधि घरमा, फोनकै भरमा’ नाराका साथ तीन वर्षदेखि घरमै औषधि डेलिभरी गर्दै आएको अनलाइन फार्मेसी ईजी केयरमार्फत लकडाउनमा पनि हप्तामा सातै दिन र दैनिक चौबीसै घण्टा आफ्नो सेवालाई निरन्तरता दिएका छौं । म आफैं समस्यामा परेकाले पनि यस्तो सेवा प्रदान गर्नुपर्छ भन्ने सोचका साथ यो सेवा सुरु गरेका हौं । गत वर्षभन्दा यो वर्ष ग्राहकको संख्या बढेर गएको छ । चाँडै काठमाडौंबाहिर पनि सेवा प्रदन गर्ने सोचका साथ काम गरिरहेका छौं । काठमाडौं उपत्यकाको रिङरोडबाट १५ किलोमिटर बाहिरसम्म निःशुल्क होम डेलिभरी गरिँदै आएको छ । बिहान नौ बजेअगाडिको अर्डर सोही दिन र बाँकी अर्डर २४ घण्टाभित्र डेलिभरी गरिनेछ भने केही छुटको पनि व्यवस्था गरेका छौं । जीवन रक्षाका अत्यावश्यक औषधिको इमर्जेन्सी डेलिभरीसमेत गरिने र रातिको इमर्जेन्सी डेलिभरीमा ५ सय थप शुल्क लिएर सेवा दिएको छ । ग्राहकले इजी केयरको वेबसाइटमार्फत वा सिधै कल गरेर आवश्यक औषधि र सेवाको अर्डर गर्न सुविधा रहेको छ । ईजी केयरको गोदाममा उपलब्ध नभएका औषधि बजारमा उपलब्ध भएसम्म खोजेर डेलिभरी सेवा दिँदै आएका छौं । नेपालमा उत्पादन नहुने औषधि बजारमा ‘सर्टेज’ भएको अवस्थामा निश्चित समय लिएर विदेशबाटै मगाएर उपलब्ध गराउने गरिएको छ । रगतको ‘स्याम्पल टेस्ट’को सेवा पनि इजी केयरले दिँदै आएको छ । ईजी केयरका स्वास्थ्यकर्मी ग्राहकको घरमै गएर स्याम्पल संकलन गरी गुणस्तरीय ल्याबमा जाँच गरेर रिपोर्ट बुझाउने गरिएको छ । उक्त सेवाका लागि ल्याब शुल्कबाहेक ‘होम सर्भिस’को थप सय रुपैयाँ शुल्क लिएर सेवा दिएको छ । साथै घरमै डाक्टर बोलाउनुपरेमा ‘डक्टर अन कल’को सुविधासमेत छ । प्रायःजसो भाइवर र सामाजिक सञ्जालबाट बढी अर्डर आउने गरेको छ । २ जना संस्थापक र ११ जना स्टाफमार्फत सेवा प्रदान गरिरहेका छौं ।

होम सर्भिस दिँदै निर्माण साथी
कुमार भट्ट
सीईओ, निर्माण साथी

निर्माण तथा मर्मतसम्बन्धी ई–कमर्स कम्पनी ‘निर्माण साथी’ घर तथा कार्यालयमा आउने विभिन्न समस्या समाधान गर्ने लक्ष्यका साथ स्थापना गरिएको हो । घरमा चाहिने सबै किसिमका करिब १ सय प्रकारका सेवा प्रदान गरिरहेका छौं । कोभिड–१९ को विषम परिस्थितिमा पनि प्लम्बिङ, विद्युतीय, एसी, सोलार, रंगरोगन, सिपेज (चुहावट) रोकथामलगायतका डिजाइन डेकोरेसनदेखि कन्स्ट्रक्सन मेन्टिनेन्ससम्मका सबै काम गर्दै आएका छौं । आकस्मिक सेवा चौबीसै घण्टा प्रदान गरेका छौं भने नियमित सेवा भने कार्यालय समयबाट प्रदान गरिरहेका छौं । हामीले करिब डेढ वर्षदेखि सेवा प्रदान गरिरहेका छौं । प्रत्यक्ष÷अप्रत्यक्ष गरेर करिब १ सय ५० को हाराहारीमा रहेको जनशक्तिले सेवा प्रदान गरेका छौं । सेवा लिने र सेवा दिनेको बीचमा ग्याप देखिएसँगै त्यो ग्याप पूर्ति गर्ने लक्ष्य अवधारणासहित स्थापना भएको निर्माण सेवाले दुवै पक्षलाई एपको माध्यमबाट जोडेर सेवा प्रदान गरिरहेको छ । दुवै पक्षले सहज सेवा प्रदान गरोस् र सेवा प्राप्त होस् भन्ने हेतुले यो प्लेटफर्म विकास भएको हो । प्राविधिकहरूलाई पनि एकजुट गराएर सेवा वितरण गर्न सकिएको छ भने सेवा लिनेले पनि गुणस्तरीय र भरपर्दाे सेवा प्राप्त गरेको अवस्था छ । दुई संस्थापक र केही प्राविधिकबाट सेवा सुरु गरेको निर्माण साथी सेवाले सेवा लिन चाहनेले छिटो र सस्तोमा सेवा चाहने भएकाले हामीले सोहीअनुसार सेवा प्रदान गरिरहेका छौं । निर्माण साथीले आफ्नो वेबसाइटमा उपभोक्ताका समस्या अनलाइन बुक गर्ने व्यवस्था गरेको छ । साथै फोन गरी अफलाइन बुक गर्न सकिनेसमेत छ । यसरी बुक गरेको दुई घण्टामै सेवा उपलब्ध गराइनेछ । मर्मतका लागि आवश्यक सामग्रीको समेत निर्माण साथीले प्रबन्ध गर्नेछ । निर्माण साथीको प्राविधिक मर्मतका लागि पुगेपछि गर्नुपर्ने कामको अवलोकन गरी शुल्क निर्धारण गरेर सेवा प्रदान गरिरहेका छौं ।

खानासँगै खाद्यान्न डेलिभरीमा भोजडिल
विष्णु सुवेदी
अपरेसन म्यानेजर, भोजडिल

विगत तीन वर्षदेखि काठमाडौं उपत्यकामा ग्राहकको रोजाइका रेस्टुराँबाट खाजा र खानाका परिकार घर तथा अफिसमा डेलिभरी गर्दै आएका छौं । रेस्टुराँ र होटलकै मूल्यमा हामीले ग्राहकलाई घरमा सेवा पु¥याउने लक्ष्यका साथ यो अनलाइन प्लेटफर्मको विकास भएको हो । भोजडिलले लकडाउनमा पनि आफ्नो सेवालाई निरन्तरता दिएको छ । कोभिड–१९ को त्रासमा पनि सरकारले तोकेको सबै खाले स्वास्थ्य सुरक्षा अपनाएर नेगेटिभ रिपोर्ट भएको राइडरले सेवा प्रदान गरेका छन् ।
भोजडिलका संस्थापक निकेत अग्रवालको मार्गनिर्देशनमा रहेर अनलाइन अर्डरबाटै राजधानीवासीलाई सस्तो र सहज रूपमा सेवा पु-याउने लक्ष्यका साथ काम गरिरहेका छौं ।
दैनिक ४ सयसम्म अर्डर आउने गरेको छ । भोजडिलले लकडाउनको विषम परिस्थितिमा ताजा तरकारी, फलफूल र किराना सामानसमेत डेलिभरी गर्दै आएको छ । ६ जनाभन्दा बढी कर्मचारी यसमा संलग्न रहेका छन् । उपत्यकाको रिङरोडबाहिर २ किलोमिटरसम्म सेवा प्रदान गरेका छौं । थप सेवा–सुविधा विस्तारका लागि केही आकर्षक प्याकेज र थप कर्मचारी बढाएर सेवा प्रदान गर्ने योजनामा रहेका छौं । अनलाइन भुक्तानी गर्न सकिनेछ । भोजडिलले ‘पार्सल सेवा’ समेत थप गरेको छ । ग्राहकले काठमाडौंको एक ठाउँबाट अर्को ठाउँ पठाउनका लागि भोजमार्फत पार्सल गर्न सक्नेछन् ।

क्रेता र बिक्रेतालाई जोड्दै वरिपरि
राज रेग्मी
संस्थापक, वरिपरि एप्स

कुन पसल तथा सेवा प्रवाह गर्ने, संस्था खुला छ-छैन, कस्तो सुविधा प्रदान गर्छ, वरिपरि नै ग्राहकले चाहेको सुविधा प्राप्त गर्ने प्लेटफर्म वरिपरिले गर्नेछ । अनलाइनबाट वरिपरि रहेको सेवा नै सहज रूपमा ग्राहकलाई जानकारी गराउने लक्ष्यका साथ विकास भएको एप्स हो यो । डिजिटलाइजेसनको माध्यमबाट ग्राहकलाई सेवा दिने नै हाम्रो उद्देश्य हो । स्थानीयको उत्पादन तथा वरिपरि रहेको सेवा घरघरमा पु¥याउने योजनासहित वरिपरि आएको हो । सबै किसिमका सेवा तथा सुविधा एप्सबाट दिने काम यो एप्सले गर्छ । आफ्नो मोबाइल उठाउनुस् र वरिपरि मोबाइल एप्स डाउनलोड गर्नुहोस् । आफ्नो उत्पादन तथा व्यवसायलाई लगानीबिना नै डिजिटल गर्नुहोस् । नजिकैका उपभोक्तालाई सहज वातावरण बनाउनुहोस् । वरिपरि मोबाइल एप्सबाट खरिद तथा बिक्री दुवै गर्न सक्नुहुनेछ । कोरोना महामारीको विषम परिस्थितिमा वरिपरि मोबाइल एप्सले डिजिटल माध्यमबाटै क्रेता र विक्रेतालाई जोड्ने काम गर्नेछ । स्थानीय पसल, खाद्य पसल, फार्मेसी, सुपरमार्केट, मासु पसललगायत घरमै उत्पादन गरेका वस्तुहरू उपभोक्तासम्म पु¥याउने काम वरिपरिले गरिरहेको छ । वरिपरि मोबाइल एप्स डाउनलोड गरेर आफ्नो व्यवसाय तथा आफ्नो उत्पादनलाई निःशुल्क उक्त एप्समा राख्न सकिनेछ । व्यवसायी र उपभोक्ता दुवैले वरिपरि मोबाइल एप्समा साइनअप गर्नुपर्नेछ । आफ्नो नाम र फोन नम्बर राखेर एप्लिकेसन सुचारु गर्न सकिनेछ । त्यसपछि व्यवसायीले आफ्नो पसल तथा उत्पादन दर्ता गर्न क्रेट स्टोरमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो व्यवसाय, व्यवसायीको नाम, सम्पर्क नम्बर र लोकेसन राख्नुपर्नेछ । व्यवसायीले आफ्नो उत्पादन तथा पसलबाट होम डेलिभरी व्यवस्था छ-छैन पनि खुुलाउनुपर्ने हुन्छ । त्यस्तै व्यवसायीले आफ्नो उत्पादन बेच्ने माध्यम अर्थात् पैसा कसरी लिने, त्यो पनि खुलाउनुपर्नेछ । ई–सेवा, फोन पे, बैंक ट्रान्सफर, नगदलगायत माध्यम छनोट गरिसकेपछि उपभोक्ताले पनि त्यहीअनुसार खरिद गर्न सक्नेछन् । व्यवसायीले आफ्नो पसल तथा स्टोर खुला-बन्द के छ, त्यो पनि एप्सबाटै राख्न सकिन्छ । सामान्यतया बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म पसल खुला हुन्छ भनी राखिएपछि बीचमा बन्द गर्नुपरेमा सञ्चालक तथा व्यवसायीले एप्सबाटै पसल बन्द भनेर राख्न सक्नेछन् ।
वरिपरिले पहिलो चरणमा उपभोक्ता र व्यवसायीलाई मात्र जोड्ने काम गरिरहेको छ । आगामी दिनमा वरिपरिले होम डेलिभरीका लागिसमेत काम गर्नेछ । त्यस्तै तपाईं आफ्नो घरभन्दा टाढा तथा नयाँ ठाउँमा जानुभएको छ भने गुगलको माध्यमबाट वरिपरिले तपाईंको वरपर के–कस्ता पसल छन्, त्यहाँको स्पेसल के हो भन्ने पत्ता लगाउन मद्दत गर्छ, जसले गर्दा नौलो र ठाउँअनुसार फरक–फरक वस्तुहरू तपाईं खरिद गर्न सक्नुहुनेछ । त्यस्तै तपाईंलाई भोक लागेको छ-घाउ–चोटपटक लागेको छ भने नजिकै होटल तथा रेस्टुराँ, फार्मेसीलगायत सबै वरिपरि मोबाइल एप्सबाट हेर्न सक्नुहुनेछ ।

Source: https://www.karobardaily.com/news/117085

Latest Blog Posts
कमलपोखरीस्थित सिटी सेन्टरले दशैं–तिहार लक्षित योजनाहरु ल्याएको छ । शपिङ्ग मलमा आउने ग्राहकहरुल...
स्मार्ट डोको ई–कमर्श एपले दशैंको अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । अफर अन्तर्ग...
Now you can order from bhatbhateni and get your groceries delivered to your doorstep by Foodbusters....
अनलाइन फूड डेलिभरी सेवा दिँदैं आएको राइड सेयरिङ एप 'पठाओ'ले  अनलाइन फूड डेलिभरीमा आकर्षक योजना ...